गृहमन्त्री बालकृष्ण खाणले नेपालमा राष्ट्र, नागरिक र कुनै पनि मित्रराष्ट्र विरोधी गतिविधि हुन नदिन सरकार दृढ रहेको बताएका छन् ।

सोमबार मन्त्रालयले आयोजना गरेको गृह प्रशासन सुदृढीकरण सम्बन्धमा पूर्व पदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले भने ‘हामीले संयुक्त राष्ट्रसंघको बडापत्रमा हस्ताक्षर गरेका छौं । तसर्थ हामी नेपाल भूमिभित्र र नेपाल राज्य, नेपाली जनता र कुनै पनि मित्रराष्ट्र विरोधी गतिविधि हुन नदिन प्रतिबद्धता छौं ।’ यस विषयमा सुरक्षा निकायका प्रमुखहरुलाई गम्भीर भएर लाग्न निर्देशन दिँदै गृहमन्त्रीले आफूलाई जानकारी थिएन भनेर पन्छिन नपाइनेसमेत बताए ।

नागरिकको अधिकार र जीवनरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै खाँणले सरकार नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन गम्भीर रहेको बताउँदै नागरिकको सुरक्षामा सरकार गम्भीर छ । सरकारको पहिलो प्राथमिकता नागरिकको सुरक्षा हो । राज्य र नागरिकको सुरक्षामा कुनै पनि कम्प्रमाइज नगर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका उच्च पदस्थ अधिकारीहरूलाई निर्देशनसमेत दिए ।

गृहमन्त्री खाँणले कोभिड–१९ महामारीबाट नागरिकलाई बचाउन आफ्नो जीवनको प्रवाह नगरी जोखिम मोलेर काममा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरूलाई प्रोत्साहन गर्न आफू तयार रहेको बताउँदै अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन गर्न बजेट बढाउन प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग कुरा गर्नेसमेत खाणले बताए ।

गृहमन्त्री खाँणले सुरक्षा निकाय प्रमुखहरुलाई भने- ‘तपाईंहरूले पहल गर्नुस् म प्रधानमन्त्री र अर्थमन्त्रीज्यूसँग कुरा गर्छु । मलाई विश्वास छ, प्रधानमन्त्रीज्यू र अर्थमन्त्रीज्यू पूर्व गृहमन्त्री भएकाले यो विषयलाई गम्भीर रूपमा लिएर कार्यान्वयन गर्न तदारुकता देखाउनुहुनेछ ।’