काठमाडौं। नेकपा माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका छन् ।

बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन् । 

नेता रायमाझिसँगै पुर्वमाओवादी नेताहरु लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी पनि सर्वोच्च पुगेका छन् । संसद् सचिवालयले आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत रहेकोले परमादेशबाट सांसद पदमा पुनर्वहाली गर्न नेताहरुले माग गरेका छन । उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको समेत उल्लेख गरेका छन । गत चैत २६ गते माओवादी केन्द्रको पत्रको आधारमा संसद सचिवालयले उनिहरुलाई सांसदबाट पदमुक्त गरेको थियो ।

यसैबीच सर्वोच्च अदालतले रिटमाथिको सुनुवाइका लागि विहीबारका लागि पेसी तोकेको छ ।