काठमाडौं । नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टमा उत्परिवर्तन भएका संक्रमित फेरि फेला परेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७ वटा नमुनामध्ये तीन जनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन भेटिएको हो। उत्परिवर्तन भएको यो भेरियन्टलाई डेल्टा प्लस नामले चिनिने गरेको छ। देशका विभिन्न भागहरुवाट संकलन गरेका ४७ वटा नमुनामध्ये सबैमा डेल्टा भेरियन्ट भेटिएको र तीमध्ये तीनवटामा थप उत्परिवर्तन K417 एन म्युटेसन भेटिएको छ जसलाई AY1 नाम दिइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले जेठमध्येदेखि असार मसान्तसम्म देशका विभिन्न भागका विभिन्न उमेर समूहका ४७ वटा नमुना संकलन गरेर परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित प्रयोगशालामा जिन सिक्वेन्सिङका लागि पठाएको थियो। सो क्रममा नेपालमा डेल्टा प्लस भेरियन्ट पनि फेला परेको हो।
यसअघि पनि नेपालमा ४८ वटा नमुना परीक्षण गर्दा ९ जनामा डेल्टा प्लस फेला परेको थियो। हाल सम्म यो म्युटेसन नेपालसहित संसारका १० भन्दा बढी राष्ट्रहरूमा पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार नेपालसहित भारत, रासिया, अमेरिका, युके, जापान, पोल्यान्ड, पोर्चुगल, स्विजरल्यान्ड र क्यानडामा यो नयाँ म्युटेसन देखिएको छ। यो म्युटेसन कुन देशमा पहिला देखियो भन्ने विषयमा भने अहिलेसम्म जानकारी आउन सकेको छैन।डेल्टा भेरियन्ट अहिले विश्वका ८० भन्दा बढी देशमा देखिएको छ। अल्फा भेरियन्ट १६४ देशमा देखिएको छ।
के हो डेल्टा प्लस भेरियन्ट ?
डेल्टा प्लस भेरियन्ट भारतमा भेटिएको डेल्टा भेरियन्टबाटै म्युटेट भएको भेरियन्ट हो । यसलाई AY1 नामले पनि चिनिन्छ । पहिलोपटक गत अप्रिल ११ मा यो भेरियन्ट भारतमा देखिएको भारतको स्वास्थ्य मन्त्रालयले बताएको छ । यो भेरियन्टमा दक्षिण अफ्रिकामा भेटिएको बिटा भेरियन्ट पनि देखिएको छ । जसको कारण वैज्ञानिकहरुले डेल्टा प्लस भेरियन्ट अझै संक्रामक हुन सक्ने आशंका व्यक्त गरेका छन् । बिटा भेरियन्ट मानिसको प्रतिरोधी क्षमतालाई कमजोर बनाउन सक्ने भेरियन्टको रुपमा चिनिएको भारतका वरिष्ठ संक्रामक रोग विशेषज्ञ शाहिद जमील बताउँछन् ।


