जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठन समाजवादी ट्रेड युनियन महासंघमा नेकपा संयुक्त पार्टी अन्तरगत रहेको नेपाल ट्रेेड युनियन फेडरेशन समायोजन भएको छ । कार्यक्रममा नेपाल ट्रेड युनियन फेडरेशनका सह–अध्यक्ष नारायण थापाकोे नेतृत्वमा सयौँ श्रमिकहरु समाजवादी ट्रेड युनियन महासंघमा समाहित भएका छन् ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आथित्यमा सम्पन्न समायोजन कार्यक्रममा, जसपाका शिर्ष नेताहरु राजेन्द्र प्रसाद श्रेष्ठ, नवराज सुवेदी र रकम चेम्जोङ्ग लगायतका नेतृत्वको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल ट्रेड युनियन फेडरेशनका नेता तथा कार्यकर्ताहरु लाई जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत शिर्ष नेताहरुले खादा ओडाएर स्वागत गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष यादवले अब श्रमिकहरुको बैकल्पिक शक्ति समाजवादी ट्रेेड युनियन महासंघ बन्ने निश्चित रहेको भन्दै, व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर श्रमिकहरुको पक्षमा डटेर संघर्ष गर्न निर्देशन दिए ।

कार्यक्रमका विशेष अथिति एवम् जसपाका नेता राजेन्द्र प्रसाद श्रेष्ठले समुन्नत समाजवाद स्थापनाका लागि श्रमिकहरुको मुख्य भूमिका रहने भन्दै जसपा श्रमिकका पक्षमा सँधै साथमा रहने बताए । यसै गरी जसपाका नेता नवराज सुवेदी, रकम चेम्जोङ्गले ठूला भनिएका पार्टीसँग नजिक रहेका ट्रेड युनियनहरुले मजदुरको नाममा लुट मचाएको भन्दै समाजवादी ट्रेड युनियन महासंघ श्रमिकहरुको पक्षमा इमान्दारीपूर्वक लड्ने संगठन भएको बताए ।
कार्यक्रमको अध्यक्षता गर्दै, समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्वाङले महासंघमा प्रवेश गरेकाहरु लाई पूर्व पार्टीको हैसियत, योगदान, कार्यक्षमता, दक्षता क्रियाशीलताको आधारमा मुल्याङकन गरी पार्टी तथा महासंघका विभिन्न समिति, विभाग, तथा भूगोलमा जिम्मेवारी दिइने बताए । पूर्व नेपाल ट्रेड युनियन फेडरेशनका सह–अध्यक्ष नारायण थापाले समुन्नत समाजवाद स्थापनाका लागि श्रमिकहरु एकजुट हुनुको विकल्प नरहेको भन्दै जसपा तथा महासंघले श्रमिकका मुद्धाहरुलाई गम्भिरता पूर्वक लिनेमा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा समाजवादी ट्रेड युनियन महासंघका उपाध्यक्ष अर्जुन लम्सालले समाजवादी ट्रेड युनियन महासंघ र ट्रेड युनियन फेडेरेशन बीचमा भएको एकताको सहमति पत्र वाचन गरेका सुनाएका थिए भने उपाध्यक्ष विष्णु प्रसाद पौडेलले कार्यक्रममा सहभागीहरु लाई मन्तब्य मार्फत स्वागत गरेको थिए । कार्यक्रम समाजवादी ट्रेड युनियन महासंघका महासचिव डी.वी. सरोज राईले संचालन गरेका थिए ।

