तस्विर: दानियल सुनुवार

दानियल सुनुवार, रामेछाप। रामेछाप स्थित गोकुलगंगा अस्पतालले अत्याधुनिक एक्सरे मेसिन जडान गरी एक्सरे सेवा सञ्चालनमा ल्याएको छ। मङ्गलबार अस्पतालमा एक्सरे मेसिन र वैकल्पिक उर्जाको लागि जेनेरेटर जडान सम्पन्न भएसँगै अस्पतालले एक्सरे सेवा सञ्चालनमा ल्याएको हो।

गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सनुवारले मङ्गलबार जडित डिआर टेक्निकल प्रविधिको एक्सरे मेसिन र जेनेरेटर जडान सम्पन्न पश्चात उद्घाटन गर्नु भएको छ।गोकुलगंगा अस्पतालमा जडित एक्सरे मेसिन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सुनुवारले गाउँपालिकाले कृषि  र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकता दिएको र त्यसकै प्रतिफलस्वरुप अत्याधुनिक प्रविधिको एक्सरे मेसिन जडान गर्न  सकिएको बताउनु भएको छ। एक्सरे मेसिन जडानकार्यले कोभिड -१९ को महामारीलाई परास्त गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ। उहाँले अस्पताललाई थप सुध्रिढ बनाउन विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय, विभाग तथा जिल्ला स्वास्थ्य कार्यालय, स्वास्थ्य क्षेत्रका विशेषज्ञहरूसँग समवनय गर्दै थप सुधारका कार्यहरू अगाडी बढाउने र सेवाहरू थप गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ, भने सामान्य उपचारकै लागि स्थानीयले राजधानी गई बस्नु नपर्ने बताउनु भएको छ।

एक्सरे मेसिनको आयात टेन्डरका जिम्मा लिएका जया गुरुङले रामेछाप अस्पतालले प्रविधियुक्त गुणस्तरीय मेसिन भित्र्याएको र रामेछाप जिल्लामै यस प्रविधिको एक्सरे मेसिन पहिलो पटक भित्रिएको दाबी गर्नु भएको छ। उहाँले जिडत एक्सरे मेसिनले छिटो र सरल ढंगबाट १० सेकेण्डकै समयावधिमा रिपोर्ट दिने क्षमताको एक्सरे मेसिन भएको बताउनु भएको छ। टेक्निकल सफ्टवेयरको माध्यमबाट कम्प्यूटरमा रिपोर्ट हेरी समस्या पहिचान गर्न सकिने र इन्टरनेटको माध्यामबाट संसारको जुनसुकै कुनाबाट पनि रिपोर्ट हेर्न सकिने बताउनु भयो।

साथै, गाउँपालिकाले वैकल्पिक उर्जाको लागि ३० केभिए क्षमताको जेनेरेटर जडान गरेको छ।