प्रदेश नम्बर ५ को नाम र स्थायी राजधानी टुंगो लागेको छ। मंगलबार प्रदेश सभा बैठकमा भएको भोटिङबाट प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी हुने भएको हो ।
दुई तिहाइ बहुमतका साथ दाङको देउखुरीलाई प्रदेश राजधानी बनाउने र प्रदेश को नाम लुम्बिनी राख्ने प्रस्ताव पारित भएको छ ।
भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले जानकारी दिएका छन। उनका अनुसार प्रदेशसभामा ८७ सदस्य रहेकामा प्रदेशको नाम र राजधानी टुंगो लगाउने मतदान प्रक्रियामा ८२ सांसद उपस्थित रहेका थिए । भोटिङमा राजधानी देउखुरीको पक्षमा बहुमत आएसँगै उनले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरेका गरेका थिए ।
यसैगरी प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पक्षमा ७९ मत र विपक्षमा ४ मत खसेको छ । पक्षमा खसेको मत दुई तिहाइ भन्दा बढी भएपछि सभामुखले प्रदेशको नाम लुम्बिनी कायम भएको घोषणा गरेका छन ।