काठमाडौं। नेकपा एमालेका माधवकुमार नेपाल समुहको केन्द्रीय कमिटी बैठकले पार्टी तत्काल नफुटाउने तर अन्तर संघर्ष जारी राख्ने निर्णय गरेको छ। नेपाल पक्षको बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता र कार्यदलको नाममा अल्झाउन खोजेको निष्कर्षमा पुगेको छ।

आज बसेको नेपाल समुहको केन्द्रीय समितिको भर्चुअल बैठकले कार्यदलले समस्या समाधान गर्ने नाममा आफ्नो पक्षहरूलाई खेलाउन खोजेको निष्कर्षमा पुगेका हुन्। भर्चुअल माध्यामबाट जारी रहेको केन्द्रीय कमिटी बैठकमा पार्टी एकताका लागि कार्यदलले गरेको काम र ओली पक्षको रणनीतिका बारेमा ‘ब्रिफिङ’गरेका छन्।

पार्टीलाई जेठ २ मै फर्काउन पहल गर्ने भन्दै बनेको कार्यदलमा नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई पछिल्ला केही दिनदेखि संस्थापन पक्षसँग छलफलमा लागिरहेका छन्। कार्यदलका नेता सुरेन्द्र पाण्डले बैठकमा नेताहरूलाई ब्रिफिङ गर्दै ओलीले आफू कमजोर भएका बेला संवादको कुरा गरेर अलमल्याउन कोसिस गरेको र वार्ताबाट खासै उपलब्धी हासिल नभएको बताएका छन्।

केन्द्रीय कमिटीको बैठकमा झलनाथ खनालले ब्रिफिङ् गर्दै अझै केही समय ओलीविरुद्ध संघर्ष गर्नुपर्ने र पार्टी फुटाउन हातार गरिहाल्न नहुने तर्क अघि सारेका छन्। उनले अझै केही समय ‘केपी ओली प्रवृत्तिविरुद्ध’ पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने र नयाँ पार्टी गठनमा हतारो गर्न नहुने बैठकमा सहभागी अन्य केन्द्रीय सदस्यहरूको समेत राय छ।