प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीलाई बनाउने प्रस्तावको विरोधमा भएका प्रदर्शनलाई हिंसात्मक नबनाउन राष्ट्रिय मानव अधिकार आयोगले सम्बन्धित सवै पक्षलाई आग्रह गरेको छ । प्रदेशका मुख्यमन्त्री चढेकोे गाडी तथा अन्य सरकारी सवारी साधनहरुमा समेत ढुंगामुढा, तोडफोड तथा आगजनी गरिएको पाइएको भन्दै आयोगले सोमबार एक विज्ञप्तिमार्फत प्रदर्शनलाई हिंसात्मक नबनाउन आग्रह गरेको हो ।
बन्दको कारण बुटवल र आसपासका क्षेत्रहरुमा बिरामी, वृद्ध, गर्भवती महिला, श्रमिकलगायत आमनागरिकहरुको आवागमन तथा दैनिक जीवनमा कठिनाई उत्पन्न भएको पाइएको आयोगले जनाएको छ । आन्दोलन अनुगमनका क्रममा तिलोत्तमा नगरपालिकामा कार्यरत एक राष्ट्रसेवक कर्मचारीको सवारीसाधन तथा निजका व्यक्तिगत सरसामानहरु समेत जलाइएको पनी आयोगले जनाएको छ ।
असहमतिका कुनै पनि विषयमा शान्तिपूर्णरुपमा विरोध तथा प्रदर्शन गर्न पाउने हक प्रत्येक नागरिकलाई भए तापनि आगजनी, तोडफोड जस्ता कार्यहरु कुनै पनि दृष्टिकोणबाट उचित नहुने आयोग बताउँछ । विरोधका कार्यक्रमरुलाई हिंसात्मक नबनाई संयमित र शान्तिपूर्ण रुपमा अगाडि बढाउन तथा आफ्ना असहमतिका विषयहरुको वार्ता र संवादको माध्यमबाटै समाधान खोज्न आयोगले आन्दोलनरत पक्षलाई आग्रह गरेको हो । साथै, आयोगले शान्तिपूर्ण रुपमाविरोध प्रदर्शनमा उत्रिएका नागरिकहरुमाथि मर्यादित र संयमित व्यवहार गर्न पनि स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।

