काठमाडौं। नेकपा एमालेको आज बसेको स्थायी समितिको बैठकले अन्तिम समयसम्म पार्टी एकता प्रयास जारी राख्ने निर्णय गरेको छ। मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले त्यस्तो निर्णय गरेको एमालेका पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
प्रवक्ता ज्ञवालीले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने र लचिलोपन अपनाउने बताएका छन्। स्थायी समितिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेतामात्रै सहभागी भएका थिए। यस अघिको बैठकले वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ जनालाई पार्टी सदस्यबाट निष्कासित गर्दै उपमहासचिव घनश्याम भुसाललगायत थप १२ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
पार्टी एकताका लागि यसअघि गठित कार्यदल अहिले अस्तित्वमा नरहेको तर आवश्यक परे त्यसलाई पुर्नगठन गर्न सकिने ज्ञवालीले जानकारी दिए। तर कार्यदलका संयोजक भीम रावल पार्टी सदस्यबाट निष्कासनमा परेका छन् भने केहीलाई स्पष्टीकरण सोधिएको छ ।

