काठमाडौं। विवेकशील साझा पार्टीका संस्तथापक संयोजक नेता उज्वल थापाको निधन भएको छ। उपचारका क्रममा मंगलबार अपराह्न ४ बजेर २५ मिनेटमा निधन भएको हो।
विवेकशील साझो पार्टीका संस्थापक ४४ वर्षिय थापालाई कोरोना र निमोनिया देखिएकोमा सोमबार मात्रै कोरोना नेगेटिभ आएको थियो। थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा उपचार गरिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि मेडिसिटी अस्पतालमा इक्मो प्राविधिबाट उपचार गरिएको थियो।
दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको सोमबार रिपोर्ट नेगेटिभ आए पनि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज अपराह्न ४ः२५ बजे निधन भएको हो।
विवेकशील साझा पार्टीद्वारा शोक वक्तव्य:
विवेकशील साझा पार्टीले संस्थापक संयोजक तथा अध्यक्ष उज्ज्वल थापाको निधनले सिङ्गो पार्टी पङ्क्ति स्तब्ध भएको जनाएको छ। पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्वसंयोजक थापाका निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
बैठकले थापाका स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्यतिथिमा प्रत्येक सदस्य र शुभचिन्तकलाई कम्तीमा एउटा वृक्षरोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यलाई आह्वान गरेको पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेद्वारा आज जारी शोक वक्तव्यमा उल्लेख छ।
वक्तव्यमा मार्फत शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकारलगायत मुद्दामा दलले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमका लागि राज्यलाई दवाव दिने विधि स्थापित गर्न थापाको अहम् भूमिका रहेको जनाएको छ।

