काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले १४ औँ गणतन्त्र दिवसको अवसरमा ४ सय ३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी दिने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरी राष्ट्रपति समक्ष सिफारिस गरेपछि ति कैदिहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी आममाफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२, सर्वोच्च अदालतको संयुक्त इजलासबाट मिति २०७७/४/१९ मा भएको परमादेश (रिट नं. ०७६-WO-०९३९) को आदेश, मुलुकी अपराध संहिता, २०७४ को दफा ४५ को उपदफा (४) तथा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६ को उपदफा (४) र फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/२/१३ गतेको सिफारिसमा मिति २०७८र२र१५ गते देखि लागू हुने कैदीहरुको भुक्तान हुन बाँकी कैद घट्टा भएको हो ।
संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्याकि निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था गरिएको छ । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा गणतन्त्र दिवसको अवसर पारेर शनिबारदेखि कार्यान्वयन हुनेगरी एकसाथ ४३० कैदी बन्दीलाई माफी दिएका हुन्।

