काठमाडौं। नयाँ भेरिएन्ट सहितको कोरोनाको दोस्रो लहरले नेपाल सहित दक्षिण एसियालाई आक्रान्त पारिरहेको बेला सहयोगको घोषणा गरेको संयुक्त राष्ट्र संघ(डब्लु एचओ) ले आगामी साता नेपाललाई सहयोग स्वास्थ्य सामग्री पठाउने भएको छ। संक्रमण बढिरहेको दक्षिण–पूर्वी एसियाली मुलुकहरुलाई ३४० मेट्रिक टनभन्दा धेरै स्वास्थ्य सामग्री प्रदान गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले घोषणा गरेको  थियो।

राष्ट्रसंघले आगामी साता नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा आवश्यक स्वास्थ्य सामग्री पठाइने बताएको छ। डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले भनिन्, ‘हजारौँ अक्सिजन कन्सन्ट्रेटर, टेस्टिङ किट्स, अस्पतालको बेड, टेन्ट र पीपीईहरु अहिले पाइएको सहयोगका मुख्य सामग्री हुन् । ती सामग्रीहरु विभिन्न मुलुकहरु र सबैभन्दा धेरै आवश्यकता भएको क्षेत्रमा पठाइएको छ।’

पछिल्लो साता कोरोनाबाट समस्यामा परेको भारतमा पठाइएको स्वास्थ्य सामग्रीहरु मुलुकका विभिन्न २६ राज्यमा पुगेका छन् । गत साता चार हजार अक्सिजन कन्सन्ट्रेटर, १२० टेन्ट, चारसय मेडिकल बेड, १२ लाख रेस्पिरेटर मास्क र ६ लाख ५० हजार स्याम्पिलिङ किट्स भारत पठाइएको थियो । तत्काल डब्ल्यूएचओले बंगलादेशका लागि ६० मेट्रिक टनको स्वास्थ्य सामग्रीहरु पठाएको छ।