काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) संवद्ध युवा संघले संसद् विघटनको विरुद्ध प्रदर्शन गरेको छ । काठमाण्डौ जोरपाटीमा जनता समाजवादी पार्टी (युवा संघ) आबद्ध कार्यकर्ताले संसद विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विरोध प्रदर्शन गरेका हुन् | उक्त विरोधको क्रममा युवाहरुले रास्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्ग प्रसाद ओलीको पुत्ला जलाएका छन् |
संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु कदापि स्वाभाविक र संवैधानिक कदम मान्न नसकिने जनता समाजवादी पार्टी युवा संघका केन्द्रीय उपमहासचिब मुकेश प्रसाद कुशवाहले बताएका छन्।
जुलुस कार्यक्रममा जनता समाजवादी पार्टीका प्रभावशाली नेता आङकाजी शेर्पाले प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रमूलक तरिकाले देशलाई दुर्घटनातिर लगेको आरोप लगाए । उनले कोरोना महामारी भयावहसँग जनताले सामना गरिरहेको समयमा राष्ट्रपतिको निर्णयले देशलाई झनै संकटतिर धकेलेको सुनाए । ‘राष्ट्रपति कार्यालयबाट २०७८ जेठ ७ गते जारी विज्ञप्ति नेपालको संविधान, राजनीतिक दल सम्बन्धि ऐन २०७३ र प्रतिनिधिसभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल खाएको देखिंदैन’, नेता शेर्पाले बताए , ‘जुन शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्त विपरीत हुन गएको छ।’
जनता समाजवादी पार्टी गोकर्णेस्वरका सचिब राजकुमार कोइरालाले भन्नुभयो -ओली वास्तवमा नेपाललाई संवैधानिक संकटको व्यवस्था सृजना गर्दै सिक्किमिकरणको दिशामा लान उद्यत छन् । विदेशी शक्तिकेन्द्रहरुको इच्छा अनुसार नेपालमा अस्थिरता सृजना गर्ने योजना अनुसार यस्तो कदम चालिएको हो भन्नेमा कुनै शंका छैन |
समाजवादी युवा संघ केन्द्रीय उपमहासचिव सुनील लामा,समाजबादी युवा संघ केन्द्रीय सचिव मन्जु मिक्चन तमाङ,समाजबादी युवा संघ प्रदेश उपाध्यक्ष प्रकास योन्जन तमाङ लगायतको उपस्थिति रहेको उक्त जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको थियो ।

