काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र शेरबहादुर देउवा दुवैले प्रधानमन्त्री पदका लागि गरेको दाबी नपुग्ने ठहर गरेसँगै मध्यराती प्रतिनिधि सभा विघटन गरेपछि यतिखेर प्रतिपक्षिहरू आक्रोशित बनेका छन्। त्यस्तै सामाजिक सञ्जालहरूमा पनि आक्रोश उत्कर्षमा पुगेको छ। 

नेपाली काङ्ग्रेसका नेता गगन थापाले समाजिक सञ्जालमार्फत आक्रोश पोख्दै भनेका छन् 'खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद ! विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक,७६ (३) को सरकार गठन,विश्वास लिनुको सट्टा ७६(५) को आव्हान,अनुकुल नभएपछि फेरी विघटन ! कस्तो सेटिङ! प्रकृया त देखाउन मात्र थियो,यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो, लिए ।’‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद ! विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक,७६ (३) को सरकार गठन,विश्वास लिनुको सट्टा ७६(५) को आव्हान,अनुकुल नभएपछि फेरी विघटन ! कस्तो सेटिङ! प्रकृया त देखाउन मात्र थियो,यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो, लिए ।’ थापा भन्छन् 'सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्।महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन्, नेतागण!नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौँ।'

एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन् गरी चुनावमा जाने निर्णयलाई सामाजिक सञ्जाल मार्फत ‘प्रतिगमन भाग २’को संज्ञा दिँदै सबैलाई प्रतिवाद गर्न आह्वान गरेका छन्। उनले भनेका छन् चुनाब घोषणा गर्नु ‘सर्वसत्तावाद लाद्ने उद्देश्य’ र ‘व्यवस्था नै कू गर्ने अग्रसरता’ हो। 

माओवादी केन्द्रका नेता वर्षमान पुन(अनन्तले) राष्ट्रपतिको निर्णय लोकतन्त्रमाथि डकैती  भएको बताएका छन्। उनले आक्रोश पोख्दै भनेका छन् ओलीले चालेको कदम  मध्यरातमा ज्ञानेन्द्र शाहले जस्तै कदम हो,अब ज्ञानेन्द्र जस्तै जनताबाट लखेटिनेछन्, जनता अब चुप बस्दैनन्।'

त्यस्तै जनता समाजवादी पार्टीका संघीय परिषद संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई मध्यावधि चुनाव नभएर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्चमा लागेको आरोप  लगाएका छन्। उनले सामाजिक सञ्जालमार्फत ‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म !, ‘यो कुनै मध्यावधि चुनाव होइन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो । एकजुट होऔं, प्रतिवाद गरौं !’ भनेका छन्।

विकेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले सामाजिक सञ्जालमार्फत भनेका छन् 'विश्वासको मत नलिएका, त्यो प्राप्त हुन सक्ने स्थिति छैन भनेका, सरकार नेतृत्वको दावी पनि अस्विकृत भएका प्रधानमन्त्रीले संसद भंग गर्ने सिफारिश गर्न मिल्छ? देशका भूपू प्रमसहित सांसदहरूको किर्ते सही राष्ट्रपतिको कार्यालयमैँ पुगेपछि, त्यो पहिलेबाट छानविन गर्न पर्छ कि पर्दैन?‌ देशमा महामारी छ। मान्छे मरिरहेका छन्। नागरिकहरू स्वयं औषधी, अक्सिजन, खानाको जोहो गरेर निसाहयलाई सहयोग गरिरहेका छन्। विदेशीहरु विमान चार्टर गरेर सहयोग लेराइरहेका छन्। सरकारचाहिँ यस्तो अवस्थामा अर्बौँ रूपैयाँ निर्वाचनमा खर्च गर्ने तयारी गर्दैछ?‌' 

कतिपयले कोरोना महामारीविरुद्ध लड्ने बेला अर्बौं रुपैयाँ खर्चेर चुनावमा जाने निर्णयको विरोध गरेका छन् । कतिपयले नहुने चुनावको घोषणा अनवरत शासन गर्ने सोचबाहेक केही नभएको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा दुवैले प्रधामन्त्रीका लागि दाबी पेश गरेका थिए। त्यस पश्चात दुवैको दाबी नपुग्ने ठहर राष्ट्रपति भण्डारीले गरेकी थिईन्। शुक्रबार साँझ प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनका लागि सिफासिर गरेको थियो।